वैशाख ५
भारतीय सुरक्षाकर्मीले नेपालको कन्हौली नाकामा ल्याएर छाडेका १ सय १४ जना नेपालीमध्ये ९१ जनालाई भारत नै फिर्ता पठाइएको छ।
शुक्रबार दिउँसो भारतीय सुरक्षा अधिकारीसँग छलफल गरी ९१ जनालाई भारत पठाइएको र बाँकी २३ जनालाई सर्लाहीको चन्द्रनगर गाँउपालिकामा रहेको क्वरेण्टीनमा राखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो।
उनीहरु भारतको सोनवर्षामा स्थापना गरिएको क्वरेण्टीनमा एक साता देखि बस्दै आएका थिए। बिहीबार राति भारतीय सुरक्षाकर्मीले उनीहरु सबैजनालाई बिना जानकारी ट्रकमा राखेर नेपाल भारत सीमाको लखन्देही खोलाको बगरमा ल्याएर छाडेका थिए।
उनीहरुमध्ये केहीलाई ज्वरो र रुघाखोकी लागेको पाइएको छ। बिहानै खोलाको बगरमा ठूलो संख्यामा मान्छे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।उनीहरुसँगै आएका अझै केही मानिस कतै लुकेर कतै बसेको हुनसक्ने आशंका स्थानीयले गरेका छन ।
भारतको विभिन्न स्थानमा काम गर्न गएका नेपालीहरु पछिल्लो समय चोर बाटोबाट धमाधम नेपाल फर्किरहेका छन ।
Comments
Leave a comment