२९ भदौ, काठमाडौं । बारीमा खेती नगरिने तर खानयोग्य वनस्पतिको वर्गीकरण गरिएको छ । यी वनस्पतिले पोषण सुरक्षाका लागि उल्लेख्य योगदान गरेको अध्ययनमा देखिएको छ ।

जर्मन संघीय आर्थिक सहयोग र विकास मन्त्रालय तथा अन्य निकायको साझेदारीमा जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड)ले उत्तरी धादिङको रुबि भ्याली, खनियाबास र गङ्गाजमुना गाउँपालिकमा गरेको अध्ययनले एक सय ७० प्रजातिका जङ्गली खानयोग्य वनस्पतिको पहिचान र वर्गीकरण गरेको हो। अध्ययनका क्रममा दुई सय ५७ प्रजातिका नामावली सङ्कलन गरेको थियो । 

स्थानीय बासिन्दाले वर्षभरि उपभोग गर्ने मसलामा १३ दशमलव छ प्रतिशत, तरकारीमा १७ दशमलव दुई प्रतिशत र फलफूलमा १९ दशमलव छ प्रतिशत तौलको आधारमा जङ्गली वनस्पतिको योगदान रहेको अध्ययनले देखाएको छ । यस क्षेत्रका नागरिक ८८ प्रतिशतले आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने अवस्था रहेको देखिएको छ ।

ग्रामीण दुर्गम स्थानका गरिब र सीमान्तकृत समुदायका लागि जङ्गली खानयोग्य वनस्पति खाद्य तथा पोषण सुरक्षा, आयआर्जन, र जीविकोपार्जन गर्ने प्रमुख आधार देखिएकाले संरक्षण, व्यवस्थापन र निरन्तर उपलब्धताका लागि स्थानीय सरकार, समुदाय र जीविकोपार्जन गर्नेको ध्यान जान जरुरी देखिएको छ ।

Comments

Leave a comment