९ भदौं, काठमाडौं ।   उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका छोरा तर्फका  सम्धी उपेन्द्रकुमार कोइराला देशको एकमात्रै पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त हुने भएका छन् ।

कोइरालालाई मन्त्री स्तरको   निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरिएको छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष कोइरालालाई बनाउने गरी सञ्चालक नियुक्त गरेको हो ।

अध्यक्षको चयन सञ्चालक समितिको निर्णयबाट गर्ने व्यवस्था अनुसार अब बुधबार बस्ने सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने  बताइएको छ ।

बैंकको सञ्चालकहरुमा हाल अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, जनककुमार वराल, प्रा. डा. राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती र प्रा. डा. माधवप्रसाद दाहाल रहेका छन् । बैंकका सञ्चालकहरु मध्येबाटै अध्यक्ष चुन्नु पर्ने व्यवस्था भएकाले सरकारले उनलाई अध्यक्ष नियुक्त गर्न अन्य सञ्चालकहरुलाई पहिलने नै भनेर हाल सञ्चालकमात्रै नियुक्त गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक हाल मूनाफालगायतका सूचकका आधारमा देशकै पहिलो बैंक हो । बैंकको नेतृत्वमा नातावाद र सम्बन्धका आधारमा कुनै व्यक्तिलाई लैजानु उपयुक्त नहुने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

Comments

Leave a comment